समता ग्लोबल सिनेट के हो र यसले के काम गर्छ र यसमा सहभागिता जनाउन के गर्नु पर्छ ?
गुणस्तरीय शिक्षाको पहुंचमा सहजता ल्याउने उद्देश्यले स्थापित गैरनाफामूलक संस्था हो। सो उद्देश्य पूरा गर्न सिनेटले ग्लोबल इन्डाउमेन्ट फण्डको निर्माण र व्यवस्थापन मार्फत विविध कार्यक्रमहरुको लागी श्रोत परिचालन गर्छ। शिक्षाको माध्यमबाट बालवालिकाको भविष्य निर्माणमा टेवा पुऱ्याउने खालका कामहरुमा हामी सहकार्य गर्न चाहन्छौं। हाम्रो प्राथमिकता विद्यालयहरुलाई पर-निर्भर भन्दा आत्मनिर्भर बनाउने मा रहेको छ। रिसोर्स म्यानेजमेन्ट, कम्युनिटि एन्गेजमेन्ट, लीडरसीप डेभेलपमेन्ट, र प्रभावकारी सिकाई जस्ता विषयमा विद्यालयहरुलाई सशक्तिकरण गर्ने हाम्रो चाहना रहेको छ। नेपाल सरकार, स्थानीय निकायहरु, स्थानीय बुद्धीजीवीहरु, व्यावसायहरु र अन्य सरोकारवालाहरुसंग सहकार्य गर्दै शिक्षाको पहुंचमा सहजता ल्याउंदै जाने हाम्रो उद्देश्य हो। यसमा विभिन्न तरिकाले सहभागी बन्न मिल्छ। सामान्यतः सिनेटर बन्न, अनलाईन डोनेशन गर्न वा आफ्नो नाममा छात्रवृत्ति स्थापना गर्न पनि सकिन्छ।
हामीसंग सहकार्य गर्न इच्छुक संघ-संस्थाहरुले हामीलाई ईमेल गर्न सक्नुहुन्छः samataglobalsenate@gmail.com
आजीवन सदस्यहको शुल्क कति हो? रकम कसरी परिचालन कसरी गरिन्छ ?
सिनेटका आजीवन सदस्यलाई हामी सिनेटर भन्छौं। सिनेटरहरुलाई हामीले एक प्रतीज्ञा गरेका छौं कि उहॉंहरुको सदस्यता शुल्क (१००० डलर) को सॉंवा रकम कहिल्यै पनि खर्च हुँदैन। त्यो ग्लोबल च्यारिटि इन्डाउमेन्टमा जम्मा हुन्छ। यो इन्डाउमेन्टको सॉंवा चलाउन मिल्दैन। अन्य रकम चाहिं पार्टनर स्कूलहरुलाई ग्रान्टको रुपमा दिइन्छ। पार्टनर स्कूल मार्फ़त शैक्षिक कार्यक्रमहरुमा खर्च गरिन्छ।
अमेरिकामा रहेको समता ग्लोबल सिनेट र नेपालमा सञ्चालित समता विद्यालय वीचको आधिकारिक सम्वन्ध के हो ?
समता ग्लोबल सिनेट संयुक्त राज्य अमेरिकामा दर्ता भएको गैर नाफामुखी संस्था हो। हाम्रो मिशन विद्यालय/शैक्षिक संस्थाहरूलाई सशक्त बनाउनु हो। हामीले बर्ष २०२२ मा हाम्रा वेबसाइटहरू, सामाजिक सञ्जालहरू र कार्यक्रमहरू मार्फत समता स्कूललाई प्रवर्द्धन गरेका थियौं। हामीले समता स्कुलका संस्थापक श्री उत्तम सञ्जेलको अमेरिका भ्रमणलाई प्रायोजन गर्यौं र समता स्कुललाई अनुदान दियौं। समता ग्लोबल सिनेटलाई नेपालको समता विद्यालयको बारेमा प्रश्न, गुनासो र जिज्ञासाहरु प्राप्त भएका छन। तर सिनेटले समता स्कुल संचालन गर्दैन। यसको जानकारी गराउन हामीले सिनेटको सोसल मिडीया पेजमा फेब्रुअरी २, २०२३ मा एक सूचना प्रकाशित गरेका थियौं।
समता ग्लोबल सिनेटले साझेदार विद्यालयहरूको सम्पत्ति, दायित्व र व्यवस्थापनलाई नियन्त्रण गर्दैन। समता ग्लोबल सिनेट एक स्वतन्त्र दातृसंस्था हो। साझेदार विद्यालयहरूसँगको हाम्रो सम्बन्ध दाता र अनुदानमा सीमित छ।
समता विद्यालय नेपालमा दर्ता भएको स्वतन्त्र शैक्षिक संस्था हो भन्ने हाम्रो बुझाई रहेको छ। उक्त विद्यालयको स्वामित्व, संचालन, वा आधिकारिकताको सवालमा हामी अनभिज्ञ छौं।
समता ग्लोबल सिनेटका आजीवन सदस्यहरुवाट उठाइएको रकम के कस्तो अवस्थामा रहेको छ ?
फिडेलिटी नामक वित्तीय संस्थामा 3EDGE Asset Management नामक कम्पनिले म्यानेज गर्नेगरी इन्डाउमेन्ट फन्डको सिर्जना भएको छ।
समता ग्लोबल सिनेटका सिनेटरहरुले प्रदान गर्नु भएको दान कुन क्षेत्रमा खर्च गरिने छ ?
सिनेटर शुल्कको सॉंवा इन्डाउमेन्टमा जान्छ। अन्य रकमबाट पार्टनर स्कूललाई अनुदान दिइन्छ।
समता ग्लोबल सिनेटका सिनेटरहरुले प्रदान गर्नु भएको दान परिचालनको लागि के कस्तो मापदण्ड या निर्देशिका तयार पारिएको छ ?
सन २०२४ अगस्त ११ म बसेको साधारणसभाले एक स्वतन्त्र ग्रान्ट रिभ्यू कमिटि गठन गरेको छ। सो कमिटिले ग्रान्ट सम्बधी कार्यविधि तय गरेको छ। यस अघिसम्म सामान्य निवेदनकै आधारमा पार्टनर स्कूललाई उपलब्ध गराउँदै आइएको थियो। प्रयोजन खुलाएर रकम तोकेर माग गरेको आधारमा ग्रान्ट रकम उपलब्ध गराइएको थियो। सिनेटको इन्डिपेन्डेन्ट ग्रान्ट रिभ्यू कमिटिले आवश्यकता अनुसार मापदण्डहरु निर्धारण गर्छ र प्रस्तावहरुको मुल्याङ्कन गर्छ। एक पटक लिएको ग्रान्ट रकमको प्रभाव र परिणाम सहीतको प्रतिवेदन नबुझाउने संस्थालाई फेरी दोहोर~याएर रकम दिन मिल्दैन।
हालसम्म सिनेटले कस्ता संस्थाहरुलाई मदत गरेको छ?
सिनेटको उद्देश्य अनुरूप शैक्षिक संस्थाहरुलाई मदत गर्दै आएका छौं।
यो संस्थाको सम्पूर्ण रुपमा खर्च गर्ने अधिकार कसलाई हुन्छ ?
साधारणसभाले दिएको निर्देशनभित्र रही कार्यसमितिले खर्च गर्न सक्छ। तर सिनेटर शुल्क चाहिं इन्डाउमेन्ट फन्डमा कहिल्यै खर्च नहुने गरी राख्ने व्यवस्था छ।
शुरुमा समता ग्लोबल सिनेट को वेबसाइटमा समता स्कूल का फोटोहरु राखिएको थियो। अहिले देखिंदैनन नि, किन हटाइएको हो?
समता स्कूल हाम्रो पहिलो पार्टनर स्कूल हो। त्यसकारण हामीले उहॉंहरुलाई मदत गर्दै आएका हौं। उहॉंहरुकै अनुरोधमा उहॉंहरुले पठाएका फोटोहरु हामीले राखेका थियौं। उहॉंहरुलाई समता स्कूलको प्रचार गर्ने इच्छा रहेको थियो। हामीले पनि मन खोलेरै प्रचार प्रसार गरेका हौं। पछिल्लो समय सकूलले नै ती फोटाहरु हटाउन अनुरोध गरेपछि हटाइएको हो।
सिनेटले नेपालमा सञ्चालित समता स्कूललाई कसरी चिन्दछ?
सिनेटले समता स्कूललाई पहिलो पार्टनर स्कूलको रुपमा चिन्दछ। उहॉंहरुसंग दीर्घकालिक साझेदारी गर्ने हाम्रो शुरुवाति चाहना रहेको थियो।
नेपालमा सञ्चालित समता स्कूलले सिनेटलाई कसरी चिन्दछ?
आधिकारिक रुपमा भन्नुपर्दा समता स्कूलले सिनेटलाई चिन्दैन।
सिनेटले सन २०२२ मा पठाएको ग्रान्टको रिपोर्ट समता स्कूलले सिनेटलाई बुझाएन।। सिनेटले स्कूललाई रिपोर्ट बुझाउन र थप रकमको आवश्यकता भए सो को प्रस्ताव पठाउन पनि आग्रह गरी पत्राचार मार्फत ताकेता गरीरह्यो तर विद्यालयका संस्थापकले चाहिं सिनेटका जिम्मेवार पदाधिकारीहरु संग सम्पर्क विच्छेद गर्नुभयो।।
सायद रिपोर्ट लेखन र प्रस्तावलेखनमा समस्या हुनसक्छ भन्ने अनुमानको आधारमा सिनेटले स्कूलका पदाधिकारी, प्रशासक, वा शिक्षकहरुलाई रिपोर्ट बनाउन सिकाउने अफर पनि गरेको हो। अन्य तालीम र लीडरसिप डेवेलपमेन्टका अवसरहरुको लागी मनोनयन पठाउन आग्रह सहित पत्राचार पनि गरिएको हो। तर स्कूलले रिपोर्ट पठाउन अस्विकार गर~यो , थप रकमको लागी कुनै प्रस्ताव पनि पठाएन, तालीम र लीडरसिप डेवेलपमेन्टका अवसरहरुको लागी कुनै कर्मचारी वा शिक्षकको मनोनयन पनि पठाएन। यसरी सिनेटसंग स्कूलले सम्पर्क बिच्छेद गरेको लामो समय भैसकेको छ।
समता ग्लोबल सिनेटमा उत्तम संजेलको भूमिका के हो?
बर्ष २०२२ मा सिनेटको आयोजनामा आयोजित कार्यक्रममा संजेल एक अतिथिको रुपमा आमन्त्रित हुनुहुन्थ्यो। सिनेटका तर्फबाट उहाँलाई अधिकतम सात हज़ार डलर सहयोग गर्ने सहमति भएको थियो। सहमति भएको भन्दा धेरै गुणा भन्दा बढी सहयोग गरिसकेको छ।
समता ग्लोबल सिनेटको कार्यक्रममा उत्तम संजेललाई कुन शर्तमा अमेरिका ल्याइएको हो?
उहॉंलाई अमेरिका निमन्त्रण गर्दा सिनेटको तर्फबाट पटक पटक उहॉंको के “एक्सपेक्टेशन” छ भनेर सोधिएको हो। उहॉंले एक हज़ार डलर पाए बिद्यालयको लागी ठुलो मदत हुनेथियो भन्नुभएको हो। सिनेटको तर्फबाट हामीले उहाँको म्यक्सिमम अपेक्षा कति हो भनेर पनि सोधेको हो। उहाँले सात हज़ार डलर सम्म पाए त भवन निर्माणमा समेत सहयोग हुनेथियो भन्ने आशा व्यक्त गर्नुभएको हो। सिनेटले सात हज़ार डलर नघटाईदिने बचन दिएर अतिथिको रुमपा बोलाइएको हो। पछि उहाँले थप रकम माग गर्नुभएपछि उहाँलाई जे जति रकम चाहिएको हो, निवेदन लेखेर माग गर्नुहोस र लैजानुहोस भनियो। त्यसपछि उहाँले थप १४,८४५ डलर थप लिन चाहेको भनेर निवेदन दिनुभयो र सोही बमोजिम रकम बुझेर लैजानुभयो। उहाँले पटक पटक सिनेटसंग माग गर्नुभएको छ। हालसम्म उहाँले रकम तोकेर मागेको जति सिनेटले दिइसकेको छ। पहिलो बर्ष (२०२२) मा २९,२४५ र दोश्रो बर्ष (२०२३) मा १९,२३० गरी उहॉंले सिनेटबाट लिएको आधिकारिक ग्रान्ट रकम जम्मा ४८,४७५ डलर हो। उहाँको रोजाईका अन्य विभिन्न माध्यमबाट पनि हामीले थप अलग्गै ८५ हजार डलर बढी सहयोग पठाएका छौं।
७ हजार दिने शर्तमा बोलाएको हो भने फेरी किन र कसरी बढी डलर दिइयो?
पहिलो पार्टनर स्कूलको रुपमा समता स्कूल प्रति हाम्रा पदाधिकारीहरुको विशेष अभिरूचि रहेको हो। हाल यसरी गरेको ठाडो मागको आधारमा मात्र रकम दिन नमिल्ने ठहर भएपछि मानक प्रकृयाको आधारमा मात्रै ग्रान्ट उपलब्ध गराउने निर्णय भएको छ।